Ultimate magazine theme for WordPress.

आज प्रचण्ड -माधब समुहको नेपाल बन्द ,के खुल्छ?के खुल्दैन?

130

काठमाडौं, २२ माघ । नेकपा प्रचण्ड–माधव समूहले सरकारले संवैधानिक निकायमा गरेको नियुक्तिको विरोधमा आज (बिहीबार)आमहड्ताल गर्ने घोषणा गरेको छ । प्रचण्ड-माधव समूहको केन्द्रीय संघर्ष समितिले बुधबार पत्रकार सम्मेलन गर्दै देशव्यापी आमहड्तालको घोषणा गरेको हो ।

बुधबार बिहान विभिन्न संवैधानिक निकायमा नियुक्त पदाधिकारीहरूले राष्ट्रपति कार्यालय शीतल निवासमा सपथ लिएका थिए । सरकार र राष्ट्रपति मिलेर असंवैधानिक रुपमा संवैधानिक निकायहरूमा नियुक्ति गरेको भन्दै प्रचण्ड–माधव समूहले आकस्मिक रुपमा बिहीबार देशब्यापी आम हड्ताल गर्ने घोषणा गरेको हो ।

प्रचण्ड–माधवको समूहले आह्वान गरेको आमहड्तालका क्रममा अस्पताल, एम्बुलेन्स, पानी, दूध, मिडिया, औषधिलगायतका अत्यावश्यक सेवाहरुमा अवरोध नगर्ने स्पष्ट पारेको छ । यस्तै विद्यार्थीहरुको परीक्षा सञ्चालनमा पनि कुनै अवरोध नहुनु प्रचण्ड–माधव समूहले जनाएको छ । यातायत, पसल, उद्योग व्यवसाय, कलकारखाना र शिक्षण संस्था बन्द हुने प्रचण्ड–माधव समूहले जनाएको छ ।

आमहड्तालको घोषणासँगै सरकारले राजधानीको सुरक्षा व्यवस्था कडा बनाएको छ । गृहमन्त्रालयले बुधबार नै विज्ञप्ति जारी गर्दै निर्वाधरुपमा यातायात–व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ ।

गृहले संविधान र प्रचलित कानून विपरीत शान्ति सुरक्षामा खलल पुग्ने, सार्वजनिक तथा निजी सम्पत्तिको तोडफोड, सार्वजनिक यातायात सञ्चालनमा अवरोध गर्नेजस्ता कार्य नगर्न समेत आग्रह गरेको छ । शान्ति सुरक्षामा खलल पुग्ने गरी तोडफोड, आगजनी र जबरजस्ती लगायतका गतिविधि गरे कानून बमोजिम कारबाही गर्ने गृहले चेतावनी दिएको छ ।