Ultimate magazine theme for WordPress.

नेपाली राजनीतिमा उथलपुथल, बामदेब नयाँ गृहमन्त्री !

351

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले हिजो नेकपा माओवादी केन्द्रले पदमुक्त गरेका चारजनालाई मन्त्री पदमा पुनर्नियुक्ति गरेलगत्तै राष्ट्रियसभा सदस्य रहेका गृहमन्त्री रामबहादुर थापालाई समेत निष्काशन गर्ने प्रकृया अगाडि बढाएको छ ।

यस प्रयोजनका लागि माओवादी केन्द्रले राष्ट्रियसभामा थापाले दल त्याग गरेको भन्दै सूचना दर्ता गराएको हो । थापासँग अर्का सांसद् चन्द्रवहादुर खड्कासँग स्पष्टीकरण सोधिएको संसदीय दलका प्रमुख सचेतक दीनानाथ शर्माले बताए ।

खड्काले समेत माओवादी केन्द्र त्याग गरी नेकपा एमाले प्रवेश गरेका थिए । राष्ट्रिय सभाको अब बस्ने बैठकमा अध्यक्ष गणेशप्रसाद तिम्सिनाले उक्त सूचना पढेर सुनाएपछि पद रिक्त हुनेछ ।

बादलले दल त्याग गरेको सूचनामाथिको कारवाही बैशाख २ गतेपछि मात्र अघि बढ्ने
राष्ट्रियसभा सदस्य एवं गृहमन्त्री रामबहादुर थापा बादलले दलत्याग गरेको माओवादी केन्द्रको सूचना २ गते पछि मात्र कारबाहीमा जाने भएको छ ।
स्पेनमा रहेका राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना १ गते स्वदेश फर्किएपछि सो विषयमा छलफल हुने सचिव राजेन्द्र फुयालले बताए। पुस २६ गते राष्ट्रिय सभाको सातौ अधिवेशन अन्त्य भएको थियो । बादलले दल त्याग गरेको सूचना चैत २७ दर्ता भएको हो ।

गृहमन्त्री पद खारेज
माओवादीको कारवाहीमा परेसँगै बादलको गृहमन्त्री पद स्वतः निलम्बन हुनेछ। ओलीले यस अगाडी निलम्वनमा परेका चार नेतालाई मन्त्रीमा पुनः नियुक्त गरिसकेका छन्। यसरी नै ओलीले बादललाई गृहमन्त्रीमा ६ महिनाका लागि नियुक्त गर्न सक्छन्। तर वादललाई ओलीले पार्टीमा महत्वपूर्ण जिम्मेवारी दिएर मन्त्री पद नदिने सम्भावना पनि उत्तिकै छ।

एमाले विभाजन तर्फ अगाडी बढिरहेको अवस्थामा ओलीले बामदेव गौतमलाई गृहमन्त्रालय दिएर फकाउने कुरा पनि नेपाली राजनीति वृत्तमा चलिरहेको छ। बादललाई नेकपा एमालेको उपाध्यक्ष बनाएर बामदेवलाई गृहमन्त्रालय दिने सम्भावनालाई नकार्न सकिंदैन।

नयाँ सरकार गठनका विषयमा जसपा नेताहरुबीच छलफल
नयाँ सरकार गठनका विषयमा जनता समाजवादी पार्टीमा छलफल सुरु भएको छ । लामो समयदेखि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले सरकार गठनका लागि आग्रह गर्दा पनि दोधारमा देखिएको जसपामा अब भने छलफल सुरु भएको हो ।
आइतबार जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, वरिष्ठ नेताहरु राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठबीच नयाँ सरकार गठनका विषयमा छलफल गरेको हो । जसपामा नयाँ सरकार गठनको विषयमा दुई धार देखिँदा ढिलो भएको थियो । आजको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।